‘मधेश प्रदेश प्रमुखले असंवैधानिक काम गर्नुभयो

कार्तिक २७, २०८२

‘संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको व्याख्याले बारम्बार वैकल्पिक सरकार गठनको सम्भावनालाई महत्व दिएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने आधार पेस गर्दागर्दै अर्को सरकार गठन गर्नु असंवैधानिक हो।’

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वैकल्पिक सरकार गठनको प्रयास गर्नुको साटो धारा १६८(३) अनुसार सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिन्। उपचारका लागि काठमाडौं जान भनेर हिँडेकी उनले बर्दिबासको एक होटलमा यादवलाई मुख्यमन्त्री बनाएपछि चौतर्फी विरोध भएको छ ।

प्रदेश प्रमुखले चालेको कदमलाई कतिपयले असंवैधानिक भनेका छन् । यसै विषयमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता भइसकेका अधिवक्ता एवं संवैधानिक कानुनका जानकार दीपेन्द्र झासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गएराति सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । त्यो कदमप्रति अहिले किन चौतर्फी प्रश्न उठिरहेको हो ?

उहाँले विल्कुलै बेठिक, गलत र असंवैधानिक अभ्यास गर्नुभएको छ । किनभने, यसभन्दा अघि सर्वोच्च अदालतले प्रतिपादन गरेका नजिरहरू हेर्नुपर्ने हुन्छ । हिक्मत कार्कीले प्रदेश प्रमुखविरुद्ध दायर गरेको मुद्दा थियो, त्यसमा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा ईश्वर खतिवडाले निकै महत्वपूर्ण लाइन लेख्नुभएको थियो ।