कतै हामीलाई हल्लाको लत त लागेको होइन ?
रिहाना, कान्ये वेष्ट, लिल वेन, बिल्ली आइलीश, ग्रीन डे, लिङ्किन पार्क लगायतले पनि आफ्ना गीतहरूमा छाडा शब्दहरूको प्रयोग प्रशस्तै गरेको पाइन्छ । यी अंग्रेजी गायकका गीतहरूमा अत्यधिक प्रयोग गरिएका शब्द नेपालका एक नगर प्रमुखले प्रयोग गरेको विषयलाई लिएर जेनजी नजिक पुस्ताले समेत सोसल मिडियामा राम्रैसँग हल्ला मच्चाएको देख्न पाइयो ।
आजभन्दा दुई सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले आफू पाहुना लाग्न गएको घरका महिलाले उत्पन्न गरेको कर्कश ध्वनिले आफ्नो निद्रा खलबलिएको गुनासोमा वधूशिक्षा लेखेका थिए । भानुभक्त आचार्यको वधूशिक्षाले शायद पढाउन असमर्थ भयो शान्तिको स्वरमा लुकेको शक्ति । त्यसैले आजपर्यन्त निकालिरहेका छन् मानिसहरू कर्कश ध्वनि– चियापसलमा, जमघटमा, शहरका चोक र गल्लीहरूमा । हरदम, हरमौसममा बहन्छ मेरो शहरमा, मेरो देशको बतासमा ककर्श ध्वनि । लाग्छ मानिसको अस्तित्वको अहम् हिस्सा बनिसकेको छ यो । लाग्छ मेरा शहरका, मेरा देशका मानिस सुन्न सक्दैनन् मधुरो आवाजमा गरिने गलफतीे, साँझको साउती, साथीभाइको गुनगुन ।
शायद राज्यले, सरकारले सर्वसाधारणको आवाज सुन्न छाडेदेखि बढेको हो आवाजको भोल्युम । विदितै छ, जब मानिसका मधुरो स्वरलाई नसुने झैं गरिन्छ, जब दबाउन थालिन्छ जायज मागहरू– तब गुन्जिन थाल्छन् विद्रोहका स्वरहरू । विद्रोहको स्वर कर्कश नै हुन्छ– हुँदैनन् कदापि प्रेमालाप झैं मधुर । जब विद्रोहको स्वर समाजमा नियमित गुन्जिन थाल्छ, तब बुझ्नुपर्छ त्यस समाजका मानिस सचेत त छन्, तर तिनले कोलाहललाई जीवनको अहम् हिस्सा बनाइसकेका छन् । कहिलेकाहीं मलाई लाग्छ– केही वर्षयता कोलाहल मेरो शहरको संस्कृति बनिसकेको छ ।