कुलमानजी सरकारमा रहँदा पार्टी नेतृत्वमा बस्नुहुन्न,फर्केपछि अध्यक्ष बन्नुहुन्छ
लामो समयको छलफलपछि कुलमान घिसिङको नाममा दल दर्ता हुने भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसमा ५१ जना केन्द्रीय कमिटी हुनेछ ।
जेनजी आन्दोलनको जगमा बन्दै गरेको यो दल कस्तो हुन्छ त ? अरु वैकल्पिक शक्तिभन्दा कति फरक छ ? यो पार्टी व्यक्ति केन्द्रित पार्टी त हुने हैन ? यसका मूल्यमान्यताहरु के–के छन् ? भावी चुनावी रणनीति के छ ?
यिनै विषयमा मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी गरेको उज्यालो नेपाल पार्टीका प्रस्तावित केन्द्रीय सदस्य जितराम लामासँग अनलाइनखबरका कौशल काफ्लेले गरेको कुराकानी :
लामो छलफलपछि अन्तत: पार्टी आउने भयो हैन त ?
हो, दिनभरि छलफल र तयारीमै व्यस्त थियौं । मंगलबार दिउँसोतिर निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्ने योजना छ । केन्द्रीय कमिटीमा ५१ जना सदस्यहरू छन्, जसमध्ये केही परिवर्तन पनि हुनसक्छ । यो विषयमा साथीहरूसँग अन्तिम छलफल भइरहेको छ । फाइनल रूपमा भोलि नै स्पष्ट बताउने छौँ । तत्कालको लागि केही विवरणहरू गोप्य राखेर अगाडि बढिरहेका छौं ।