स्वास्थ्य क्षेत्र सुधारेर मात्र सन्तुष्टिको सास फेर्छु

कार्तिक २७, २०८२

सरकारी सेवामा तीन दशक बिताएकी डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा पुगेर बिदा भएकी थिइन् । जेनजी आन्दोलनपछि डा. शर्मालाई स्वास्थ्य मन्त्रालयको राजनीतिक बागडोर सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । स्वास्थ्य सेवालाई जरैदेखि बुझेकी डा. शर्माले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नीतिगत र प्रशासनिक सुधारको अपेक्षा गरिएको छ ।

निकै छोटो कार्यकालको अवधिमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई कसरी हल गर्छिन्, यो उनका लागि अग्निपरीक्षा हो । स्वास्थ्य क्षेत्रका बेथिति हटाउने र समस्याको समाधान गर्ने उपायबारे अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्मासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

जेनजी  आन्दोलनले तपाईंलाई स्वास्थ्यमन्त्री बनायो । स्वास्थ्य मन्त्रीका रूपमा एक साताको अनुभव कस्तो रह्यो ?

देशको जटिल परिस्थितिमा मन्त्रालयको नेतृत्व लिने अवसर पाएँ । त्यसलाई सकारात्मक रूपमा लिएको छु । अर्कोतर्फ गर्नुपर्ने काम थुप्रै छन् । जनताका अपेक्षा धेरै छन् । धेरै ठाउँमा भद्रगोल छ, यसलाई ठिक पार्नुपर्नेर्छ ।

जेनजी घाइतेको उपचारलगायत धेरै काम छन् । ती काम तदारुकताका साथ अगाडि बढाउनुपर्नेछ । ठूलो जिम्मेवारी बोध भएको छ । अहिलेको अवस्थालाई चुनौतीपूर्ण जिम्मेवारीको रूपमा लिएको छु ।

ग्रासरूटदेखि स्वास्थ्यसचिवको जिम्मेवारी सम्हाल्दै अहिले मन्त्री बन्नुभएको छ । यो छोटो अवधिमा स्वास्थ्य क्षेत्र परिवर्तनका लागि कस्तो योजना बनाउनुभएको छ ?

यसलाई दुई प्रकारले हेरेको छु । एउटा, सर्वसाधारणलाई तत्काल चाहिने सेवा । अर्को, जेनजी घाइतेको उपचार । घाउचोटको वर्गीकरण गरी क्षतिपूर्ति सिफारिस गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।

जनताले कंक्रिट सेवा पाउने कामहरू गर्नुपर्छ । त्यसमा दुई कुरा प्राथमिकतामा छन् । पहिलो, मानसिक स्वास्थ्य । यसका लागि कार्यदल बनाएर छोटो समयमा रिजल्ट आउने गरी कार्ययोजना बनाएका छौं । केही स्वास्थ्य संस्थाहरूले मेन्टल हेल्थ डेस्क राखिसकेका छन् । धेरैमा जनरल हेल्थ सर्भिससँग एकीकृत रूपमा लैजाने योजना छ । छिट्टै कार्यान्वयनमा पुग्छौं ।

अर्को, दुर्गम जिल्लाका मातृशिशु मृत्युदर उच्च भएका ठाउँमा इन्टिग्रेटेड रूपमा लैजानुपर्छ । परिवार कल्याण महाशाखामा प्रमुख थिएनन्, कार्यक्रम सुस्त थियो । हिजो पोस्टिङ गरेर सुधार गर्‍यौं । जो जुन पदको हकदार हो, त्यहाँ पठाएर तदनुसार काम बढाउने अप्रोच हो । सर्वसाधारण तथा जेनजीलाई प्रत्यक्ष लाभ हुने कुरा प्राथमिकता छन् ।

अहिले औषधि मुख्य समस्याको रूपमा छ । स्वास्थ्य संस्थामा औषधि पाइँदैन । गुणस्तर राम्रो छैन । महँगो छ । औषधि बीमामा पाइँदैन । औषधिको सिस्टमलाई सही बाटोमा हिँडाउन चाहन्छु ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताललगायत फार्माकोलोजीका विज्ञहरूलाई एडभाइजरी कमिटीमा राखेर औषधिको गुणस्तर, मूल्य परिमार्जन गर्नतिर लाग्छु । त्योसँगै औषधि व्यवस्था विभाग (डीडीए) को क्षमता बढाउनुपर्ने छ ।