पहिलो सिजनको नतिजा बिर्साउने लक्ष्यमा लुम्बिनी लायन्स

कार्तिक २७, २०८२

२६ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनमा बिर्सनलायक प्रदर्शन गरेको थियो ।

रोहितसहित नाम चलेका स्वदेशी र विदेशी खेलाडी समेत भित्र्याएको लुम्बिनीले सोचेभन्दा फरक प्रदर्शन गर्‍यो । अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा लुम्बिनी ८ टोली मध्ये अन्तिम स्थानमा रहेको थियो ।

लुम्बिनीले ७ मध्ये जम्मा एक खेल मात्र जितेको थियो । लुम्बिनीले चितवन राइनोजलाई मात्र पराजित गरेको थियो ।

अब यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणमा भने रोहितको कप्तानीमा रहेको टोली लुम्बिनी लायन्स पहिलो सिजनको प्रदर्शन र नतिजालाई बिर्साउने लक्ष्यमा छ ।

त्यसका लागि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा ल्याउने गरी लुम्बिनी लायन्स टोली यतिबेला तीव्र तयारीमा छ ।

दोस्रो सिजनका लागि लुम्बिनीले टिमको लोगो, कलरदेखि मुख्य प्रशिक्षकसम्म धेरै कुरा परिवर्तन गरेको छ । यस्तै विदेशी खेलाडीहरूमा पनि लुम्बिनीले धेरै परिवर्तन गरेको छ । अब मैदानमा पनि लुम्बिनी नतिजा परिवर्तन गर्न चाहन्छ ।

लुम्बिनीले कप्तान रोहितसहित सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेश गौतम र तिलक राज भण्डारीलाई रिटेन गरेको थियो । तर घाइते भएका विवेकको स्थानमा लुम्बिनीले सुमित महर्जनलाई टिममा राखेको छ ।

यस्तै पहिलो संस्करण खेलेका मिडियम पेसर दुर्गेश गुप्तासहित दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेललाई अक्सनबाट अनुबन्ध गरेको छ ।

लुम्बिनीले यस पटक कोचिङ स्टाफमा पनि ठूलो परिवर्तन गरेको छ । शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको लुम्बिनीले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ भने भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक बनाएको छ ।

भारतीय पूर्व पेस बलर रहेका टिनुले केराला क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

यस्तै लुम्बिनीले यस पटक रुपन्देहीमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा तयारी गर्दै फ्लडलाइटमा खेल्ने अभ्यास समेत गरेको छ । एनपीएलको दोस्रो संस्करणका अभिकांश खेल टीयू मैदानमा फ्लडलाइटमा हुने तालिका सार्वजनिक भइसकेको छ । लुम्बिनिले एक साता अघि देखि नै एक्स्ट्राटेकमा रहेको फ्लडलाइटमै अभ्यास गरिरहेको छ ।

विदेशी खेलाडी : डार्सी शर्ट देखि गुल्बादिनसम्म

लुम्बिनीले पहिलो सिजनमा बेन कटिङलगायत विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तर मैदानमा भने अपेक्षा अनुसार प्रदर्शन हुन सकेन ।

दोस्रो सिजनमा लागि लुम्बिनीले विदेशी खेलाडीमा पनि धेरै परिवर्तन गरेको छ । लुम्बिनीले अहिलेसम्म अष्ट्रेलियन ब्याटर डार्सी सर्ट, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइब र इटालियन पेस बलर थोमस ड्राकालाई अनुबन्ध गरेको छ ।

अब लुम्बिनीले बढीमा ३ विदेशी खेलाडी अनुबन्ध गर्न सक्छ । लुम्बिनी विदेशी खेलाडीमा अझै ब्याटर र बलर ल्याउने योजना बनाएको छ ।

डार्सी सार्ट र गुल्बादिनलाई भित्र्याएपछि लुम्बिनीको ब्याटिङ लाइन सहयोग पुग्नेछ । कप्तान रोहित पौडेलसहित सन्दिप जोरा मिडल अर्डरमा छन् । यस्तै दिलिप नाथ र सुमित महर्जन पनि ब्याटरको भुमिकामा छन् ।